यहाँहरुलाई विदितै छ हामी ललितपुर मा.वि. मा शिक्षालाई पृथक रूपमा परिभाषित गर्न र हरेक विद्यार्थीको अद्वितीय विशेषता र क्षमता पहिचान गरी उनीहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने काममा मन, वचन र कर्मले लागिरहेका छौं । कुनै पनि विद्यार्थी क्षमतावान र असल बन्नुमा ऊ एकजना व्यक्ति बन्ने कुरा त छँदैछ उसको योग्यता र क्षमताको उपज उसको परिवार समुदाय र समग्र राष्ट्रमा समेत उसले सार्थक योगदान दिन सक्ने हुन्छ । त्यसैले हामी हरेक विद्यार्थीलाई एक अद्वितीय व्यक्तित्वको रूपमा लिन्छौं र तोकिएको पाठ्यक्रमका आधारमा शिक्षण गर्नुका अलावा उसको व्यक्तित्व र रुचि एवं आकांक्षाको लागि आवश्यक पर्ने पृष्ठपोषण, उत्प्रेरणा, वातावरण र अवसर प्रदान गर्दछौं । शिक्षण संस्थाहरुको भीडबाट हामी त्यसै पृथक् भएका होइनौ । एकातिर हामीसँग चार दशकभन्दा लामो गौरवमय इतिहास र यो यात्राको क्रममा पार गरेका उकाली ओराली, भञ्ज्याङ्ग, चौतारीहरुले दिएको अमूल्य अनुभव र ज्ञान छ भने अनि अर्कोतिर कलिला विद्यार्थीहरुको जीवनमा उत्कृष्ट परिवर्तन ल्याई हाम्रो समाजको रुपान्तरण गर्ने सपनाको उपज सुझबुझपूर्ण र परिपक्व तर कर्मठ र उर्जाशीलरूपमा आफ्नो कर्ममा लागिरहेका छौं ।
शिक्षामा गुणस्तरको चर्चा, वहस र प्रयास विगत लामो समयदेखि भएतापनि हाम्रो देशको शिक्षा अहिले पनि अनिश्चितता र दिशाहिनताको अवस्थामा देखिएको छ । बसाइ सराइको र प्रतिभा पलायनको डरलाग्दो र विकराल अवस्थाले हामी सबैलाई र विशेषगरी राज्य सञ्चालकहरुलाई गम्भीर भएर सोच्न बाध्य गराएको छ । शिक्षाले विद्यार्थीहरुलाई देशको माटोसँग अनि यहाँको संस्कृतिसँग जोड्न सक्नु पर्दछ । यसले त हरेक विद्यार्थीलाई आफूलाई चिन्न र वर्तमान समय र परिवेशमा आफ्नो सही क्षमताको पहिचान गरी सफलताका उच्चतम शिखरहरु चुम्न सक्षम बनाउनु पर्छ । शिक्षक केन्द्रित पुरातन कर्मकाण्डी शिक्षणले एक्काइसौं शताब्दीका चुनौतिको सामना गर्न सक्ने, अझ भनौं यो प्रतिस्पर्धात्मक युगमा आफ्नो क्षमतालाई प्रमाणित गर्न सक्ने जनशक्ति निर्माण गर्न सक्दैन । आज औपचारिक शिक्षा प्राप्त गरेर पनि युवाहरु कुहिरोको काग बन्नुमा यही शिक्षणको भूमिका रहेको छ ।
हामी चाहन्छौं समाजका कुनै पनि वर्गका विद्यार्थी गुणस्तरीय र युगसापेक्ष शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् । तसर्थ हामीले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको समन्वयमा अत्यन्त न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । सकेसम्म अनुसन्धानमूलक र प्रयोगात्मक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाएर विद्यार्थीहरुलाई सक्रिय ज्ञान निर्माणकर्ता र प्रभावकारी प्रस्तोता बनाइरहेका छौं । त्यसैको उपज हाम्रा विद्यार्थीहरु स्वावलम्बी अन्वेषक र स्कलर रूपमा अगाडि बढ्दै पेशागत जीवनमा समेत उल्लेखनीय सफलता प्राप्त गरेका छन् । हाम्रा विविधतापूर्ण अतिरिक्त क्रियाकलापहरुले सिकाइलाई रमाइलो र रुचिकर बनाउन मद्दत गरेका छन् । खेलकुद, संगीत, नृत्यलगायत विद्यार्थीहरुका रुचिका क्षेत्रलाई अत्यन्तै प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
आगामी दिनहरुमा हामी अझ परिष्कृत र परिणाममुखी रूपमा अगाडि बढ्नेछौं । हाम्रा सबै अभिभावकका अपेक्षा र विद्यार्थीहरुका आवश्यकताहरूलाई पूरा गर्न थप प्रभावकारी रूपमा लागि पर्नेछौं ।
हाम्रो यात्रामा चुनौतिहरु अवश्य थिए तर हाम्रो एकतापूर्ण र योजनावद्ध अथक प्रयास र यहाँहरुको अमूल्य साथको कारण हामी सफलताका नवीन कथाहरु लेख्दै अगाडि बढिरहेका छौं । हामीलाई दहो साथ सहयोग र हौसला प्रदान गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु र भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गर्दछु । हाम्रो सपना र योजनालाई वास्तविकतामा परिणत गर्न अथक र अनवरत रूपमा खटिने मेरा सहकर्मी मित्रहरुलाई पनि धन्यवाद दिन चाहन्छु । शाशको सम्पादक मण्डल र यसको प्रकाशनमा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूलाई पनि धन्यवाद दिन चाहन्छु । अभिभावकज्यूहरुलाई विश्वास दिलाउन चाहन्छु यहाँहरुको र यहाँहरुका बच्चाको सपना साकार बनाउने काममा हामी जस्तोसुकै मेहनत गर्न पनि पछि पर्ने छैनौं । अन्तमा नव वर्ष २०८२ को उपलक्ष्यमा यहाँहरु सबैको जीवनमा थप सफलता, खुसियाली र समृद्धिको कामना गर्न चाहन्छु ।
Lalitpur – 5, Lagankhel, Nepal