Message From Director

डा. उत्तमराज त्रिपाठी
विद्यालय निर्देशक

हाम्रो विद्यालयले ४३ वसन्त पार गरी ४४ वसन्तमा प्रवेश गर्दै गर्दा र हाम्रो यो यात्रालाई नियाल्दै गर्दा साँच्चै गौरवको अनुभूति भइरहेको छ । सम्झिन्छु अवोध र निश्चल अनुहारहरु, जो बुबाआमाको न्यानो काखबाट रुँदै हाम्रो काखमा आउनु भएको थियो तर हाम्रो उत्तिकै स्नेहपूर्ण योजनावद्ध अति अथक र अनवरत प्रयासको उपज तथा यहाँहरुकै लगनशील मिहेनतको परिणामस्वरूप आज कुलको कुलद्वीप मात्र नभएर देश र समाजकै गहना बन्न सक्षम हुनुभएको छ, हाम्रा विद्यार्थीहरु आज पश्चिमा विकसित मुलुकहरुमा अत्यन्तै महत्त्वपूर्ण भूमिकामा पुग्नु भएको छ भने हाम्रै देशमा समेत उल्लेखनीय जिम्मेवारी शसक्त रूपमा वहन गर्न सक्षम हुनुभएको छ ।

हाम्रो पृथक र विद्यार्थी केन्द्रित शिक्षण पद्धति हामीले दिने व्यापक एक्सपोजर, अनुसन्धानमा आधारित शिक्षण, विभिदतापूर्ण अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा र नैतिकतामा हामीले दिएको जोडले यो सम्भव भएको हो । आज त हामी यिनै सफलता, अनुभव र सिकाइको जगमा यहाँहरुका बालबालिकालाई सुनिश्चित र उज्ज्वल भविष्यतर्फ डोऱ्याउन पूर्ण सक्षमता, तयारी र प्रतिवद्धताका साथ उभिएका छौं । हामी पक्कै लामो यात्रा तय गरेर आएका छौं तर विद्यार्थीलाई सफल बनाउने र हाम्रो समाजको रुपान्तरण गर्ने सपनाले हामीमा थकानको लेश पनि आभाषै पाइँदैन । बरू आफूलाई थप उर्जाशील र कटिवद्ध पाइरहेका छौं । विद्यालयलाई यहाँका बालबालिकाहरु फुल्ने, फक्रने र सुवास छर्ने सुन्दर बगैंचा बनाउन हामी मन, वचन र कर्मले लागेका छौं। यहाँहरु ढुक्क र निश्चिन्त हुनुहोस्, यहाँहरुका बच्चाहरुलाई एक्काइसौ शताब्दीका सक्षम नागरिक बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं । हामीलाई केवल यहाँहरुको साथ र सहयोगको आवश्यक छ ।

विद्यालयलाई भौतिक रुपमा अझ सबल बनाउन हामीले फिजिक्स ल्याब, बाइलोजी ल्याब, म्याथ ल्याब र कम्प्युटर ल्याबको स्तरोन्नति गरी अझ योजनावद्ध र परिणाममुखी रूपमा प्रयोग गर्न थालिसकेको रूपमा प्रयोग गर्न थालिसकेका छौं । खेलकुदले शारीरिक मानसिक र संवेगात्मक विकासमा पुऱ्याउने फाइदालाई मध्यनजर गर्दै विभिन्न खेलकुदका नियमित अवसर प्रदान मात्र गरिरहेका छैनौ स्पोर्टमिट खेलकुदको आयोजना गरी विद्यार्थीहरुको उत्साह र रुचिलाई थप मलजल गर्ने काम समेत गरेका छौं ।
अहिले सञ्चालनमा रहेको वाटर फोडको अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले यहाँहरुका बच्चाहरुको सिकाइ जगलाई साँच्चै मजबुत बनाइरहेको छ ।

हाम्रो विद्यालयको प्राइमरी तथा प्रिप्राइमरी तहलाई अझ युगसापेक्ष बनाउन हामीले राष्ट्रिय स्तरमै चिरपरिचित इसिडी विज्ञलाई त्यसको जिम्मा समेत लगाइसकेका छौं । हाम्रो मूल्याङ्कन प्रणालीलाई अझ परिणाममुखी बनाउन हामीले त्यसलाई संस्कारको शैक्षिक नीति अन्तर्गत रही थप प्रभावकारी बनाउन योजनावद्ध प्रयास गरिरहेका छौं ।
यहाँहरु ढुक्क हुनुहोस् हाम्रो चार दशक लामो अनुभवको जगमा उभिएर विश्वमा हाल विकसित भैरहेका प्रविधि तथा शिक्षणका नवीन खोजहरु अवलम्बन गर्दै हाम्रो विद्यालयलाई सिकारूहरूको उर्वर भूमि बनाउने कुरामा पूर्ण रूपमा प्रतिवद्ध छौं ।
देशको समग्र परिस्थिति त्यति सहज देखिँदैन ।

हाम्रा युवाहरु तथा नागरिकहरु देश छोडेर जाने अनि विदेशतिरै स्थायी रूपमा बसोबास गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । यो प्रवृत्ति बढ्दै जाँदा हाम्रा गाउँहरुहरु रित्तिदै गइरहेको अनुभव हुन थालेको छ । यो अवस्थालाई हटाउने भनेको नै शिक्षाको विकास गरी देशमा नै सीपमूलक शिक्षाको विकास गर्नु हो । युवाहरुलाई देशमै कमाउन, देशमै रमाउन र देश बनाउन प्रेरित गर्न सकिन्छ । यस कार्यको लागि सबैको हातेमालो आवश्यक छ । अन्त्यमा विगतदेखि यहाँहरुले हामीप्रति देखाउनु भएको विश्वासको उच्च मूल्याङ्कन गर्दै हाम्रा कलिला बालबालिकाको भविष्य उज्ज्वल बनाइ साँच्चै नयाँ नेपालको निर्माण गर्न भविष्यमा पनि यहाँहरुको साथ र सहयोगको लागी अनुरोध गर्न चाहन्छु ।

हामीलाई हाम्रो यात्रामा निरन्तर साथ दिने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो लक्ष्य हासिल गर्नमा दत्तचित्त भएर लागिपरेका मेरा सहकर्मी मित्रहरु तथा यो पत्रिका प्रकाशनमा खट्नु हुने सम्पादकज्यूहरु, विद्यार्थी सम्पादकहरु, लेखकहरुलगायत प्रकाशक मित्रहरू, विज्ञापनदातालगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
नव वर्ष २०८२ सालले हाम्रो सोच र कर्ममा नवीनता ल्याओस् ।